कुवेतको आगो लाग्दा तीन नेपालीको मृत्यु

कुवेतको आप्रवासी बस्ने एक अपार्टमेन्टमा आगो लाग्दा तीन नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा विजय बैठा, अप्सरा कामी र गौरी दर्जी रहेका छन् ।

बैठा सर्लाहीका हुन् भने अप्सरा र गौरीको नेपालको ठेगाना खुल्न सकेको छैन । शनिबार राति भएको आगलागीमा परेर अरु केही घाइते भएको र ती नेपाली हुन् या होइनन् भन्ने पहिचान हुन नसकेको कुवेतस्थित नेपाली दूतावासको भनाई उदृत गर्दै परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

आगलागीमा परेका १२ जनाको उद्धार गरिएको बताइएको छ । आगलागी भएको ठाउँ महाबुल्लाहमा उल्लेख्य मात्रामा नेपाली कामदार बस्दै आएका छन् । आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन ।

Comments are closed.