गुल्मी समाजले घुमायो पोर्तुगल (फोटो फिचरसहित)

युरोप नेपाली डटकम, लिस्बन, पोर्तुगल । युरोपको सबैभन्दा दक्षिणी भेगमा अवस्थित पोर्तुगल हावापानी र प्राकृतिकरूपमा अत्यन्तै रमणीय मानिन्छ । लगभग नेपालको जस्तै वातावरण र हावापानी रहेकोले यहाँ आइपुगेका नेपालीहरु चाडै नै आफ्नै देशमा जस्तै यहाँको वातावरणमा घुलमिल हुने गरेका छन् ।

पोर्तुगलमा दिनप्रतिदिन नेपालीहरुको उपस्थिति बाक्लो बनेसंगै यहाँको नेपाली समुदायमा विभिन्न संघ-संस्थाहरु स्थापित र सक्रिय हुने क्रम पनि बढ्दो छ । पछिल्लो अवस्थामामा गुल्मी समाज पोर्तुगल एउटा सक्रिय अग्रणी संस्थाको रूपमा देखिएको छ ।

विविध सामाजिक, रचनात्मक एवं सृजनात्मक कार्य गर्दै आइरहेको समाजले गत आइतबार १४ जुलाईमा पोर्तुगल विभिन्न रमणीय स्थानहरुमा गुल्मीबासी मात्र नभएर अरु भेग र क्षेत्रका नेपालीहरुलाइ पनि अबलोकन भ्रमण गराएको छ ।

गुल्मी समाज पोर्तुगलका अध्यक्ष युवराज पन्थीको नेतृत्वमा सहभागीहरुलाइ आल्बुफेइरा, लागोस, साग्रेस लगायतका पर्यटकीय र आकर्षक ठाँउहरु घुमाइ अवलोकन गराइएको भ्रमण कार्यक्रमकी सक्रिय अगुवा तथा समाजकी सदस्य माया खरेलले बताइन् ।

खासगरी वातावरण , परिवेश, पर्यटन विकासको पद्धतिलाई अवलोकन गर्नु र पारिवारिक वातावरणमा घुमफिर गरी मनोरञ्जन र आनन्द लिनु भ्रमणको उदेश्य रहेको समाजका वरिष्ठ उपाध्यक्ष अमृत रिजालले जानकारी दिए ।

पंचे बाजा, विभिन्न क्षेत्रका नेपाली लोक दोहोरी, नाचगान सहित रमाइलो गर्दै एकसय ५ जना भ्रमणमा सहभागिता रहेको र भ्रमण मार्फत विकासको संरचना, वातावरणीय अवस्था जस्ता कुराहरुको अध्ययन गर्ने अवसर प्राप्त भएकोले नेपालको पर्यटन प्रबर्द्धनमा पनि भविष्यमा केही न केही नयाँ सम्भावनाको ढोका खोल्ने समाजका अध्यक्ष युवराज पन्थीले बिश्वास व्यक्त गरे ।

पोर्तुगलमा पहिलो पटक यस्तो रमाइलो भ्रमणमा सहभागी हुन पाँउदा आफुलाइ ज्यादै खुशी लागेको केही समय अघि पोर्तुगल आएका युवा पत्रकार कलश खरेलले अनुभव सुनाए ।

“पारिवारिक तथा आत्मीय वातावरणमा बहुत रमाइलो र आनन्ददायी भ्रमण भयो, यसले केही समय भएपनि तनाव र थकानलाई बिर्सिएर प्राकृतिक वातावरणमा रम्ने मौका मिल्यो”
भ्रमणमा सहभागी नेपाली महिला समाज पोर्तुगलकी महासचिव सरिता शर्माले प्रतिक्रिया दिइन् ।

Comments are closed.