ट्रेल विश्व च्याम्पियनशीप -२०१९ मा नेपालकोतर्फबाट २ पुरुष र १ महिला धावक- धाविका प्रतिस्पर्धी

पोर्तुगल, ८ जुन । २०१९ ट्रेल विश्व च्याम्पियनशीपमा नेपालकोतर्फबाट तीनजना धावकले प्रतिष्पर्धा शुरु गरेका छन् । धावकद्वय आइते तामाङ र दुर्गाबहादुर बुढा मगर पुरुष समूहमा प्रतिष्पर्धा गर्दैछन् । महिलातर्फ धाविका सुनमाया बुढा मगरले प्रतिष्पर्धा गर्दैछिन् ।

शनिबार बिहान ९:०० बजेदेखि मिरान्डा दे कोर्भुमा च्याम्पियनशीप शुरु भएको छ ।

शुक्रबार बिहान १०:०० बजे उद्घाटन सत्रमा नेपालको झन्डा फहरिएको छ । शुक्रबार पोर्तुगलको कोइम्ब्रामा भएको उद्घाटनमा नेपालीहरुले नेपाली झन्डा फहराएका थिए । खेलाडीहरुको हौसला बढाउदै लिस्बनबाट कार्यक्रममा आएको एक समूहले बजार परिक्रमामा पनि सहभागिता जनाएको छ ।

समूहमा नेपाली सघीय समाज पोर्तुगलका अध्यक्ष सोम शेर्पा, अन्तर्राष्ट्रिय नेपाली समाज पोर्तुगलका अध्यक्ष धनराज शेर्पा,मगर समाजका अध्यक्ष चोपकुमार राना मगर, व्यवसायी नेपाल पत्रकार महासघ युरोप शाखाका महासचिव योगेन्द्रमिलन छन्त्याल लगायत सहभागी थिए ।

प्रतियोगितामा ४४.२ किलोमिटरको दूरी पार गर्नुपर्ने छ । ट्रेलमा समुन्द्री सतहदेखि २२ सय मिटर उचाइसम्म उकालो चढ्नुपर्नेछ भने दिउसो तापक्रम निकै बढ्ने छ ।

प्रतिष्पर्धामा भाग लिन सम्बन्धित देशको अल्ट्रारनर महासंघबाट छनौट हुनुपर्ने आयोजकले उल्लेख गरेको छ । तामाङ भने यसअघि पोर्तुगलमा खेल्दै गर्दा देखाएको प्रदर्शनका आधारमा नेपालीलाई सहभागी गराउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने बेलायती नागरिक रिचार्ड बुलको सहयोगस्वरुप सहभागी बन्न पाएका हुन् । पोर्तुगलबाट ९ पुरुष र ९ महिलाले प्रतिष्पर्धा गर्दै छन् ।

(नमस्ते नेपालीबाट तस्वीरसहित)

Comments are closed.