नाटकीय फाइनल इंग्ल्यान्ड विश्वकप च्याम्पियन

(एएफपी)

लन्डन — इंग्ल्यान्डले नाटकीय फाइनलमा न्युजिल्यान्डलाई पराजित गरी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार लर्डसमा भएको फाइनलमा इंग्ल्यान्डले दुर्लभ जित निकाल्दै पहिलो पटक विश्व च्याम्पियन भएको हो ।

२ सय ४२ रनको लक्ष्य लिएर आएको इंग्ल्यान्ड पुरा ओभर खेलेर २ सय ४१ रनमा अलआउट भए पछि खेल सुपर ओभरमा लम्बियो । सुपर ओभरमा इंग्ल्यान्डले विना क्षति १५ रन बनायो । जबाफमा आएको न्युजिल्यान्डले पनि सुपर ओभरमा १५ रन नै बनाए पछि इंग्ल्यान्ड धेरै बाउन्ड्रि प्रहार गरेको आधारमा विजेता बनेको हो ।

न्युजिल्यान्डले पुरा ५० ओभरमा १६ र इंग्ल्यान्डले २४ तथा सुपर ओभरमा न्युजिल्यान्डले १ र इंग्ल्यान्डले २ बाउन्ड्रि प्रहार गरेको थियो । इंग्ल्यान्ड सन् १९७९, १९८७ र १९९२ को फाइनलमा पराजित भएको थियो । न्युजिल्यान्ड लगातार दोस्रो पटक फाइनल पुगेको हो । २०१५ को पछिल्लो संस्करणमा टोली अस्ट्रेलियासँग पराजित भएको थियो ।

बेन स्टोक्सले ९८ बलमा ८४ रन बनाई इंग्ल्यान्डलाई निर्धारित ओभरमा जोगाएका थिए । उनले अन्तिम ओभरमा एक्लै दुई छक्कासहित १४ रन प्रहार गरेका थिए । उनले कुल ५ चौका र २ छक्का प्रहार गरे । न्युजिल्यान्डका जेम्स निशम र कोलिन डी ग्रान्ड होमले ३–३ विकेट लिए ।

लिएम प्लुन्केटले तीन महत्वपूर्ण विकेट लिएपछि लर्ड्समा इंग्ल्यान्डले न्युजिल्याण्डलाई २४२–८ को योगफलमा रोकेको थियो । तीव्र बलर प्लुंकेटले न्युजिल्याण्डका कप्तान तथा सुपरस्टार ब्याट्सम्यान केन विलियमसनलाई ३० रनको व्यक्तिगत स्कोरमा आउट गरेका थिए । न्युजिल्यान्डका लागि सर्वाधिक ५५ रनको इनिङ्स खेलेका हेनरी निकोल्सलाई पनि उनले आउट गरे । १० ओभरमा प्लुन्केटले ४२ रन खर्चेर ३ विकेट लिएका हुन् । क्रिश वोक्सले पनि ३–३७ को उत्कृष्ट बलिङ प्रदर्शन गरे ।

न्युजिल्यान्डले विश्वकै सबैभन्दा शक्तिशाली व्यटिङपंक्ति भएको भारतबिरुद्ध २ सय ३९ रनको योगफल रक्षा गर्दै फाइनलमा स्थान बनाएको थियो ।

‘आफ्नो प्रदर्शनमा विश्वास नै लागिरहेको छैन । यस्तो अवसरमा आफ्नो महत्वपूर्ण योगदान हुँदा राम्रो लाग्छ,’ प्लुन्केटले भने, ‘पीच पनि उत्कृष्ट थियो ।’

विलियमसनले सेमिफाइनलमा भारतबिरुद्ध जस्तै फाइनलमा पनि टस जिते र लर्ड्सको घाँसे पीचमा पहिला ब्याटिङको निर्णय गरे । क्रिश वोक्सको बलिङमा हेनरी निकोल्सलाई अम्पायर कुमार धर्मसेनाले एलबीडब्लु आउट दिए पनि न्युजिल्यान्डले रिभ्युमार्फत नतिजा उल्टाएको थियो । सन् २०१५ को संस्करणमा न्युजिल्यान्डका शीर्ष रन स्कोरर मार्टिन गुप्टिलले तीव्र बलर जोफ्रा आर्चरको बलमा २ चौका प्रहार गरे । गुप्टिल यस विश्वकपमा रन बनाउन संघर्षरत रहे । १९ रनको स्कोरमा उनी वोक्सको बलमा एलबीडब्ल्यूको सिकार बने । भिडियो रिप्लेमा पनि आउट देखिएपछि उनी पेविलियन फर्कन बाध्य रहे ।

विश्वकपमा ९१.३३ को औषतमा ५ सय ४८ रन प्रहार गरेका कप्तान केन विलियमनसनले तेस्रो नम्बरमा ब्याटिङ सुरु गरे । तर निकोल्ससँग दोस्रो विकेटका लागि ७४ रनको साझेदारी गरेपछि उनी आउट भए । प्लुन्केटको बलमा एज लागेको बल समाउन विकेटकिपर जस बटलरले कुनै गल्ती गरेनन् । अम्पायर धर्मसेनाले आउट दिएका थिएनन्, तर इंग्ल्यान्डले रिभ्यु लिएर विलियमसनको बहिर्गमन निश्चित गरेको थियो । ५३ बलको इनिङ्समा उनले २ चौका प्रहार गरे ।

प्लुन्केटले १४ बलपछि अर्को विकेट लिएसँगै न्युजिल्याण्ड ११८–३ को स्थितिमा पुग्यो । निकोल्सले ७१ बलमा अर्धशतक पूरा गरे । ५५ रनको स्कोरमा उनी आउट भएका हुन् । न्युजिल्यान्ड अनुभवी ब्याट्सम्यान रस टेलरको आशामा थियो, जसले उनीहरुलाई अप्ठेरोबाट पार लगाउन सकुन् । मार्क उडको एलबीडब्ल्यू आउट गर्नुअघि उनले १५ रनमात्र बनाउन सके ।

जिम्मी निसमलाई १९ रनको स्कोरमा प्लुन्केटले मिड अन क्षेत्रमा जो रुटबाट क्याटआउट गराएपछि न्युजिल्यान्ड १७३–५ को अवस्थामा पुग्यो । कोलिन डी ग्रान्डहोमले २८ बलमा १६ रन बनाएर आउट भए । लाथामले ४७ रन जोड्न ५६ बलको सामना गरे ।

सुपर ओभरले आयोजक इङ्ल्यान्ड क्रिकेट वर्ल्डकप बिजेता

सुपर ओभरमा आयोजक राष्ट्र इङ्ल्यान्डले न्युजील्यान्डलाई हराउँदै पहिलो पटक विश्वकप क्रिकेटको उपाधी हात पारेको छ। बराबरीमा टुंगिएपछि सुपर ओभरमा इङ्ल्यन्डले न्युजील्यान्डलाई जीतका लागि १६ रनको लक्ष दिएको थियो। एक ओभरमा न्युजील्यान्डका तर्फबाट ट्रेन्ट बोल्टले सुपर ओभर बलिङ् गरेका थिए। उनले १५ रन दिए। ब्याटिङ्मा इंग्लाण्डका बेन स्टोक्स र जोस बटलर थिए।

इंग्ल्याण्डका जोफ्रा आर्चरले सुपर ओभर बलिङ् गरेका थिए। मार्टिन गप्टिल र निसम ब्याटिङ्मा थिए। आखिरी बलमा २ रन जोड्न सफल भएको भए न्युजील्यान्ड रनर अपमै सीमित हुनुपर्ने थिएन।

आइसीसी क्रिकेट वर्ल्ड कप २०१९ सुपर ओभरबाट छिनोफानो लागेको हो। फाइनलमा पुगेका न्युजील्यान्ड र इङ्ल्यान्डले समान २ सय ४१ रनमात्र जोड्न सकेकाले खेल सुपर ओभरमा पुगेको थियो।

यसअघि फाइनलमा पुगे पनि न्युजील्यान्ड र तीन पटक फाइनलमा पुगेर पनि विश्वकप चुम्न असफल आयोजक राष्ट्र इङ्ल्यान्डबीच आज रोमाञ्चक प्रतिस्पर्धा भएको थियो।

इंग्ल्याण्ड र वेल्समा भइरहेको १२औं संस्करणको विश्वकपमा ४७ खेलपछि घरेलु टोली इंग्ल्याण्ड र न्यूजिल्याण्ड फाइनलमा पुगेका थिए। लिग चरणमा तेस्रो र चौथो स्थानमा रहेका यी दुई टोलीले लिगको शीर्षस्थानमा रहेका भारत र अस्ट्रेलियालाई सेमिफाइनलबाट बाहिर्‍याएका थिए।

पहिलो इनिङ्समा न्युजील्यान्डले २ सय ४१ रनमात्र बनाउँदा इङ्ल्यान्डले सहज जिते निकाल्ने अपेक्षा गरिएको थियो। तर, दोस्रो इनिङ्समा न्युजील्यान्डको धारिलो बलिङले खेललाई फरक मोडमा पुर्‍यायो। निर्धारित ५० ओभर पूरै खेल्दै न्युजील्यान्डले ८ विकेटको क्षतिमा २ सय ४१ रन जोडेको थियो।

हेनरी निकोलसले न्युजील्यान्डका लागि सर्वाधिक ५५ रन जोडेका थिए। टम लेथमले ४७ रनको योगदान दिए भने केन विलियम्सले ३० रन बनाएका थिए।

६.२ ओभरमा मार्टिन गुपटिल एलबीडब्लुबाट आउट भएपछि न्युजील्यान्डको रन रफ्तारमा केही ब्रेक लागेको थियो। केन विलियम्स क्याच आउट भएर दोस्रो विकेट पतन हुँदा १ सय २ रन जोडेको थियो। न्युजील्यान्डको मध्यक्रम त्यसपछि लड्खडायो। सत्ताइसौ ओभरमा हेनरी र चौतिसौं ओभरको सुरुमै रोज टेलर आउट हुँदा इङ्ल्यान्ड बलियो देखियो। तर, त्यसपछि सम्हालिँदै खेलेको न्युजील्यान्डले मध्यम स्तरको लक्ष पेश गर्न सक्यो।

दोस्रो इनिङ्स घरेलु मैदानमा आयोजकलाई सोचेजति सहज भने बनेन। २८ रन जोड्दा पहिलो विकेट गुमाएको इङ्ल्यान्डले २४ औं ओभरसम्म (२३.१ ओभर) ४ विकेट गुमाइसकेको थियो। त्यतिखेर उसको खातामा ८६ रनमात्र थियो।

मध्यक्रमका आएका बेन स्टोक्स र जस बटलरको जोडीले बलियो साझेदारी पेश गर्दा लड्खडाइसकेको इङ्ल्यान्ड घरेलु दर्शकबीच सम्हालिन पुग्यो। उनीहरुको साझेदारीले इङ्ल्यान्डलाई जित उन्मुख पुर्‍याएको थियो। मध्यक्रममा ब्याटिङमा आएको यी दुवै अर्धशतकीय पारी खेले। बलटर ५९ रन बनाएर फर्गुसनको बलमा क्याच आउट भए। ४७ ओभरको पहिलो बलमा नै फर्गुसनले छैटौं विकट लिएपछि इङ्ल्यान्डको यात्रा जोखिमपूर्ण बनेको थियो। इङ्ल्यान्डका लागि अन्तिम २ ओभरमा २४ रन आवश्यक थियो। ४८.३ ओभरमा घरेलु टिमले थप एक विकेट गुमाएपछि खेल रोमाञ्चक मोडमा पुगेको थियो। ४९ ओभरका दुई बलमा एक/एक रन बटुलेको टिम इङ्ल्यान्ड थप दवावमा पुगेको थियो। स्ट्राइकमा रहेका वेन स्टोक्सले छक्का प्रहार गरेर बलरमाथि नै दवाव दिए तर त्यही ओभरको आखिरी बलमा इङ्ल्यान्डले विकेट गुमायो। अन्तिम ओभरमा इङ्ल्यान्डसामु जितका लागि १५ रन जोड्नुपर्ने अवस्था थियो भने खातामा २ विकेटमात्र बाँकी।

न्युजील्यान्डका ट्रेन्ड बोल्टले धारिलो बलिङ गर्दै दुई डट हाने। तेस्रो बलमा बेन स्ट्रोकले छक्का प्रहार गरे। ३ बलमा ९ रन चाहिन्थ्यो इङ्ल्यान्डका लागि। स्टोक्सले फेरि छक्का प्रहार गरे २ बलमा ३ रन आवश्यक थियो। जसले खेललाई निक्कै रोमाञ्चक बनायो।

१ बल र २ रन बाँकी रहँदा दर्शकहरुको सास नै रोकिने स्थिति बन्यो। फेरि विकेट। अन्तत: खेलमा इङ्ल्यान्डले पनि २ सय ४१ नै रन बनायो। स्टोक्सले ८४ रनमा नटआउट रहे। त्योसँगै खेलको जित हार सुपर ओभरबाट निर्धारित भएको हो।

Comments are closed.