पोर्तुगलमा किराँत याक्थुङ चुम्लुङले ढोल बजाएर मनाए सिसेक्पा तङ्नाम

लिस्बन,२२ जुलाई । निक्कै रोचकढंगले ढोल बजाएर उद्घाटन गरिएको मौलिक सिसेक्पा तङ्नाम (साउने संक्रान्ति) को अवसर पारी पोर्तुगलमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । किराँत याक्थुङ चुम्लुङ पोर्तुगलको आयोजनामा साँस्कृतिक र सेलरोटी, अचार, छ्याङ सहित मौलिक खानपिन कार्यक्रमसहित सहभागीहरुले लिम्बुहरुको मौलिक पर्वको अवसरमा शुभकामना आदानप्रदान गरेका छन् ।

कार्यक्रममा नेपाल पर्यटनदुत रमेशकुमार गुरुङ, एनआरएनए आइसीसी सदस्य पेम्बा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ पोर्तुगलका अध्यक्ष हेम गुरुङ, एनआरएनए उपाध्यक्ष नारायणकाजी मगर, पत्रकार योगेन्द्रमिलन छन्त्याल, चेम्बर प्रतिनिधि शम्भु गौतम, मगर समाज अध्यक्ष चोपकुमार मगर, तमु समाज अध्यक्ष प्रितम गुरुङ, शेर्पा सोसाइटीका अध्यक्ष ओङ्गेल लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।

चुम्लुङकी अध्यक्ष दीपा लिम्बुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महासचिव रुक्मान केरुङ लिम्बुले सिसेक्पा तङ्नामबारे प्रष्ट्याएका थिए । औपचारिक कार्यक्रमपछि मौलिक साँस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो ।


के हो र कसरी मनाइन्छ सिसेक्पा तङ्नाम ?

किराँतीहरूले आफ्नो ईष्ट देवको सम्मानमा साउने संक्रन्तिको दिन नयां पाकेका फलफुलहरू चढाउन डोरिमा तुनेर ढोकामाथि झुण्ड्याउने परम्परा छ । नेपालको पूर्वमा लिम्बुवान, खम्बुवानतिर साउने सङ्क्रान्तिको दिन बिहानै खेतबारी वा नजीकको वन-जङ्गलतिर गई साउने सङ्क्रान्तिका लागि आवश्यक अन्न, फलफूल र पात (च्योङ्हरू) सङ्कलन गरी ल्याउने गरिन्छ ।

दिउँसो हरियो बाबियोको डोरी बाटी त्यसमा लहरै सिउरेर घरको मूल ढोकामाथि वरिपरि टाँगेर झुन्ड्याउने चलन रहिआएको छ । सबै परिवार मिलेर अलिक सबेरै आफ्नो घरमा जे भएको अन्न, फलफूल र अन्य परिकारको खानपिन खाएर रमाइलो गर्दछन् । साउने सङ्क्रान्तिको दिन साँझ पख गाउँघरमा मीठो-मसिनो खानपिन खाइ पिइसकेपछि वरपर, तलमाथि, वारिपारि सबैतिर एक्कासि बन्दुकहरू पड्कन्छन् ।

थाल, झ्याम्टा, नाङ्लो र ढोलहरू बज्छन् । प्रत्येक घरका हिँडडुल गर्न सक्ने बच्चादेखि युवा-युवतीहरूले घरमुली बुढापाकाको निर्देशन र उत्प्रेरणामा घरभित्रका सबै ठाउँ र घर वरिपरिसमेत घुमेर यी सामग्रीहरू बजाउँदै केही खराब तत्वलाई घर भित्रबाट बाहिरतिर खेदाएर निकालेका हुन्छन् ।


Comments are closed.