बाग्लुङ समाज पोर्तुगलको पिज्जा तालिम सम्पन्न

युरोप नेपाली डटकम, लिस्बन, ५ अगस्ट २०१९ । पोर्तुगलमा नेपालीहरुको बढ्दो आवदी संगै सीपको अभावमा रोजगारीका समस्या र चुनौतीहरु पनि थपिएका छन् । यस्तै समस्या र चुनौतीहरुलाइ मध्यनजर गर्दै पोर्तुगलमा स्थापित विभिन्न संघ-संस्थाहरुले विभिन्न सीपमुलक तालिमहरु संचालन गर्दै आएका छन् ।

यसै सन्दर्भमा बाग्लुङ समाज पोर्तुगलले १ महिना लामो पिज्जा बनाउन सिकाउने तालिम सम्पन्न गरेको छ । पिज्जा अहिले पोर्तुगलका रेस्टुरेन्टहरुमा लोकप्रिय खानाको मानिएको छ ।

समाजले ४१ जना प्रशिक्षार्थीहरुलाइ बिहान र दिउँसोको दुई सिफ्टमा तालिम दिई आज लिस्बनमा समापन गरेको समाज अध्यक्ष प्रेम खड्काले जानकारी दिए ।

समापन समारोह पिज्जामय भएको थियो । पिज्जा बनाएर खाँदै र खुँवाउदै सम्पन्न कार्यक्रममा रमाइलो र पारिवारिक माहोल अनुभव गरेकोले सहाभागीहरु खुशी देखिन्थे ।

समारोहका प्रमुख अतिथि एनआरएनए पोर्तुगलका भूतपूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले सीपमुलक कामले कोही कहीं पनि बेरोजगार बस्नु नपर्ने बताए ।

समाजका अध्यक्ष प्रेम खड्काको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको संचालन समाजका सचिव रमेश बुढाथोकी र स्वागत उपाध्यक्ष ओमबहादुर कार्कीले गरेका थिए ।

प्रशिक्षार्थीकोतर्फबाट कमल पुनले आफ्नो मन्तव्य राख्दै बाग्लुङ समाजको रोजगारीकालागि उपयोगी तालीम संचालन गरेकोमा धन्यवाद दिएका थिए ।

Comments are closed.