राजदूत अधिकारीद्वारा पोर्तुगलको सडक दुर्घटनामा निधन भएका नेपाली युवाप्रति श्रद्धाञ्जली र समवेदना व्यक्त

युरोप नेपाली डटकम, लिस्बन । गत शुक्रवार (मे ३१ तारिख) गुल्मी जिल्ला मुसीकोट नगरपालिका वडा नं ६ का ३६ वर्षीय नेपाली युवक रमेशकुमार शर्मा रिजालको सडक दुर्घटनामा परी पोर्तुगलमा दु:खद निधन भएकोप्रति पोर्तुगल समेत हेर्ने कार्यक्षेत्र रहेका फ्रान्सस्थित आवासीय नेपाली राजदूत महामहिम दीपक अधिकारीले पेरिसबाट एनआएनए पोर्तुगल अध्यक्ष कुबेर कार्कीलाई फोन गरी घटनाबारे जानकारी लिइएको र नेपालको सरकारी निकायबाट गर्नुपर्ने कानुनी प्रक्रिया र सहजीकरणकालागि दूतावास सधैंव तम्तयार रहेको बताएको अध्यक्ष कार्कीले जानकारी दिएका छन् । राजदूत महोदयले नेपालीहरुलाइ परेको पिडामा तत्काल चासो र सक्रियता लिनुभएकोमा पोर्तुगलको नेपाली समुदायमा सकारात्मक सन्देश गएको छ ।

यसैगरी सोही समयमा अध्यक्ष कार्की मार्फत राजदूत अधिकारीले लिस्बनमा रहेका मृतकका दाजु अमृत रिजाललाई पनि सम्पर्क गरि निधन भएका भाइप्रति हार्दिक श्रद्धाञ्जली दिंदै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको र महामहिम राजदूतले आफुले गर्नुपर्ने कुनैपनि कार्यकालागि तत्पर रहेको अमृतले बताएका छन् ।

पोर्चुगलको राजधानी लिस्बनबाट झण्डै ३८० किलोमिटर टाढा बेजा जिल्लाको भिलानोभु मिल्फन्तोस भन्ने स्थानमा गत शुक्रबार स्थानीय समयानुसार राति ९ः४० बजेतिर साइकलमा सवार शर्मा रिजाललाई तीव्र गतिको मोटरसाइकलले ठक्कर दिएपछि गम्भीर घाइते हुँदा उपचारका क्रममा सोही राति निधन भएको थियो ।

मृतक रिजालको दाहसंस्कार पोर्चुगलमै गरिने पारिवारिक स्रोतले जनाएको छ ।

Comments are closed.