सस्पेन्स मै सकियो “दयारानी” !

युरोप नेपाली डटकम, लिस्बन । नेपालका स्टारडम अभिनेता दयाहाङ राइ अभिनित तथा माहोत्से गुरुङद्वारा निर्देशित चलचित्र “दयारानी” लिस्बनमा उत्साहकासाथ प्रदर्शन भएको छ ।

हिजो जून ९ तारिख लिस्बनमा प्रदर्शित चलचित्रले दर्शकहरुको मन जित्न सफल भएको छ । लगभग हाउसफूल बनेको चलचित्रले युरोपेली देश पोर्तुगलमा राम्रो छाप छाडेको आयोजकहरु जनाइएका छन् ।

चलचित्र हेरेपछि हेमराज सुवेदीले प्रतिक्रिया दिए, “हाम्रै गाउँ-ठाउँमा सुटिङ भएको र नेपालीहरुको वास्तविक कथा समेटिएको भरपुर मनोरञ्जनात्मक फ्लिम लाग्यो ।”

अभिनेता दयाहाङ राइकी फ्यान दीपा लिम्बूले भनिन् “१२ बर्षपछि पुरा नेपाली फ्लिम हेरें, गजबको चलचित्र बनेको रहेछ, इन्डिङ एकदम सस्पेन्स भयो, कौतुहलता बाँकी रहँदा सायद भाग दुई बन्छ जस्तो लाग्यो ।”

चलचित्र कथा नेपाली समाजमा छोराछोरीको आवश्यकता र महत्व, अझैसम्म नेपाली महिलामाथि हेरिने दृष्टिकोण र गरिने व्यबहार, मितेरी साइनो, पुरुषले आफ्नो कमजोरी खुला ढंगले स्वीकार गर्न नसक्ने नेपाली मनोदशालाइ उजागर गर्न प्रयास गरेको छ । चलचित्र कौतुहलता सृजना गर्दै सकिएकोले फिल्मको दोश्रो भागपनि बन्ने धेरै दर्शकले अनुमान गरेका देखियो ।

नेपाल सुन्दर पर्यटकीय नगरी पोखरामा मुख्य सुटिङ भएको “दयारानी”ले दर्शकको मन जित्ने र आर्थिक रूपमा पनि राम्रो ब्यापार गर्ने निर्माता मध्येका एक पोर्तुगलका सफल युवा नेपाली ब्यबसायी केन्द्र लिम्बूले अपेक्षा राखेका छन् ।

चलचित्र यसभन्दा अघि नर्वेमा हाउसफूल भएर दर्शकहरुबाट राम्रो प्रतिक्रिया पाएको थियो । नेपालमा भने अगस्टको अन्तिम साता प्रदर्शनमा ल्याउने लक्ष्य राखिएको छ ।

तस्वीर : फोटो दृष्टि

Comments are closed.