मिडिया काउन्सिल विधेयकको विरोधमा पत्रकार महासंघद्वारा आन्दोलन घोषणा

काठमाडौं । पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले संसदमा दर्ता भएको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन घोषणा गरेको छ । शुक्रबार सञ्चार सम्वद्ध विभिन्न संघ, संगठन र संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुसँगको संयुक्त छलफलपछि पत्रकार महासंघले सरकारविरुद्ध आन्दोलनको घोषणा गरेको हो ।

छलफलमा प्राप्त सुझावका आधारमा मिडिया काउन्सिल विधेयकको प्रेस स्वतन्त्रता विरोधी प्रावधानका विरुद्ध महासंघले विरोधका कार्यक्रम तय गरेको महासचिव रमेश विष्टले जानकारी दिएका छन् । उनले विज्ञप्ति जारी गरेर वैशाख २९ महासंघका पूर्वपदाधिकारी, सञ्चार माध्यमका सम्पादक, कानुनविद् र विज्ञहरुसँग छलफल गर्ने, वैशाख ३० गते सभामुख, राष्ट्रिय सभाका अध्यक्षलाई ज्ञापनपत्र बुझाइने बताएका छन् ।

ad ad ad
आन्दोलनअन्तर्गत महासंघले वैशाख ३१ गते संसदका सम्बन्धित समितिका सभापति र सदस्यहरुसँग छलफल गर्ने र जेठ १ गते कार्यक्षेत्रमा कालोपट्टी लगाएर काम गर्ने विज्ञप्तिमा उल्लेख गरेको छ । यस्तै सोही दिन महासंघ केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र शाखा कार्यालयमा सरोकार पक्षबीच बृहत् छलफल कार्यक्रम आयोजना पनि गरिने भएको छ ।

पत्रकार महासंघले विधेयकको विरोध गर्दै जेठ ३ गते काठमाडौंमा संसद् बाहिर र जिल्लाहरुमा सदरमुकाममा सञ्चार साधनसहित बृहत् प्रदर्शन गर्ने महासचिव विष्टले बताएका छन् । मन्त्रिपरिषद्वाट पारित भएर वैशाख २६ गते संसदमा दर्ता भएको मिडिया काउन्सिल सम्वन्धि विधेयकले स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने महासंघको ठहर छ ।

महासंघ उक्त विधेयक तत्काल फिर्ता लिई सरोकार पक्षसमेतको छलफल र सहमतिमा नेपालको संविधानको मूल भावना, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्वन्धि अन्तराष्ट्रिय मूल्य, मान्यताका आधारमा पुनः विधेयक मस्यौदा गर्न सरकारसँग माग गरेको छ ।

Comments are closed, but trackbacks and pingbacks are open.